News Griha :: न्यूजगृह
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

बैतडी— विषालु सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । 

मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र बुधबार बिहान मुत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दा गर्दै मृत्यु भएको हो । 

‘सर्पले टोकेलगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्नको पछि लाग्नु भएछ,’ स्वास्थ्य चौकी इञ्चार्ज सार्कीले भने, ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन्थ्यो होला ।’  

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुने भए पनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:०४
Weather Update