News Griha :: न्यूजगृह
पहिरोमा जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

काठमाडौं— सुख्खा पहिरोमा परी जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२ देउरालीको सडकमा बुधबार बिहान दुर्घटना भएको थियो ।

घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११ बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५ हेम्जाका ३१ वर्षीय विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को जिप सुख्खा पहिरोले च्यापिएको प्रहरीले जनाएको छ । घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये चालक बालकृष्ण श्रेष्ठ सकुशल रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:१४
Weather Update