News Griha :: न्यूजगृह
नियमविपरीत काम गर्ने २ म्यानपावर कम्पनीलाई कारबाही

काठमाडौं— वैदेशिक रोजगार विभागले २ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रा.लि.र ओमेगा इन्टरनेशनल प्रा.लि.लाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।

विभागका निर्देशक एवम् सूचना अधिकारी कविराज उप्रेतीले विभागको मंगलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी दिए ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको अक्षरसः पालना गरी आफ्ना गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।

ओमेगा इन्टरनेशनल प्रा.लि.ले विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवम् सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगतरूपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरू गरेकाले कारबाहीस्वरुप निलम्बन गरिएको विभागले जनाएको छ ।

यस्तै अक्सन इन्टरनेशनल प्रा.लि. (अवतार ह्युमन रिसोर्स प्रा.लि) ले आफ्नो संस्थाको भवनभित्र अन्य २ वटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगतरूपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न रहेकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्ण दाजुभाइ, दिदीबहीनीलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै प्रचलित ऐन, कानुनको बर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषणलगायतका गतिविधि सञ्चालन नगर्न इजाजतपत्रवाला संस्थाहरूमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:४०
Weather Update