News Griha :: न्यूजगृह
बैतडी विमानस्थल बन्द, मारमा स्थानीय नागरिक
फाइल तस्बिर

बैतडी— जिल्लाको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन्  । 

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ साल चैत १० गते अन्तिम उडान भरेको थियो । 

त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए ।

‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो, भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ,’ उनले भने, ‘भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।’

पाटन–धनगढी १७ मिनेटको हवाई दुरीका लागि सुरुमा तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय बढेर पाँच हजार रुपैयाँ पुगेको थियो ।  

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै  विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीय दिनेश जोशीले बताए ।

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई  समस्यामा हुने गरेको  छ,’ उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे  पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन, नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:४९
Weather Update