News Griha :: न्यूजगृह
झापामा मन्दिरबाट हराएकी बालिका मृत फेला

झापा— भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की ३ वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु अवस्थामा भेटिएकी छिन् ।

आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् ।

खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ ।

उनको शव सोमबार अपराह्न ३ बजेतिर फेला परेको हो । बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोसमेत जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:२९
Weather Update