News Griha :: न्यूजगृह
प्रहरीले सार्वजनिक गर्‍यो बझाङमा आमा छोरालाई चक्कु प्रहारका आरोपित

बझाङ— गत साता चैनपुरमा आमा छोरालाई चक्कु प्रहारका आरोपित पक्राउ परेका छन् ।कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्याने चौधरी पक्राउ परेका हुन् ।

सोमबार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले आरोपितलाई सार्वजनिक गरेको हो ।

चौधरी गएको सोमबार मादक पदार्थ सेवन गरी सुनिता विकको कोठामा गएर विकसहित उनका दुई नाबालक छोरालाई चक्कु प्रहार गरी फरार रहेका थिए ।

सदरमुकाम चैनपुरमा ज्याला मजदुरी गर्दै आएका चौधरी चोरी गर्न कोठाभित्र पसेको र विक परिवारले प्रतिकार गरेपछि भान्छाबाट चक्कुले प्रहार गरी मोबाइल लुटेर भागेका थिए ।

लुटिएको मोबाइलका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए ।

‘आरोपी केही दिनयता गाडीभाडा नपाएर चैनपुरमै रोकिएको रहेछ । त्यस दिन घटना घटाएर दोस्रो दिन नै कैलाली गएर घरमा बसेको अनुसन्धानबाट देखिएको छ’,नायब उपरीक्षक भण्डारीले भने । 

उनका अनुसार मदिरा खाएर चोरी गर्ने उद्देश्यले घटना घटाएको देखिन्छ ।‘विकको कोठामा राति उज्यालै रहेछ । बाहिरबाट हेर्दा झ्याल छेउमा मोबाइल देखेपछि कोठाभित्र पसेको र परिवारका सदस्यले थाहा पाएपछि अन्धाधुन्ध भान्छाबाट चक्कु लिएर प्रहार गरेको देखिन्छ,’उनले भने ।

आरोपित चौधरी मजदुरी गर्न चैनपुरमा ६ महिना अगाडि आएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:१८
Weather Update