
काठमाडौं— देशभर पशु चौपायामा देखिएको लम्की स्कीन रोगबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एनडेकको ५१औं बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘लम्की स्कीन रोगबाट मरेका पशुचौपायाको क्षतिपूर्तिको विषय छिटो अगाडि बढाउने निर्णय भएको छ । यो रोगबाट किसानलाई पुगेको आर्थिक क्षतिको आकलन गरि क्षतिपूर्ति कसरी वितरण गर्ने भन्नेबारे तत्काल कार्यविधि बनाई पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ’, एनडेकको निर्णयबारे जानकारी दिँदै राष्ट्रिय योजना आयोगका प्रवक्ता सुमन दाहालले भने,‘क्षतिपूर्तिको विधि कस्तो बनाउने भनेर कृषि मन्त्रालयलाई खाका पेस गर्न भनिएको छ ।’
विभिन्न पूर्वाधार आयोजनामा प्रभावकारी समन्वय हुन नसक्दा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न एनडेकले निर्देशक दिएको पनि दाहालले बताए ।