
काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौं टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार रहेका छन् ।
यस्तै, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाउने पीडितहरुबाट पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाउने भन्दै दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाउने भन्दै एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।
यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाएर सुपर मार्केटमा मसिक एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।