News Griha :: न्यूजगृह
म्याग्दीमा सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी— म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।

असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट वर्खा याममा बालुवा उत्खनन गरेका हुन् ।

तोलावाङ, पतेनी, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताविनै बालुवा उत्खनन् भएको गाउँपालिकाका जनप्रतिनिधिले नै बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले केही व्यक्तिहरुले ठेक्का सम्झौता नै नगरिकन बालुवा उत्खनन गरेको गुनासो आएको र उनीहरुलाई जरिवाना तिराइएको बताए ।

‘हाम्रो पालिकाको क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि गत वर्ष भएको सम्झौता अवधि सकिएको छ । नयाँ आवको ठेक्का आह्वान भएको छैन’,उनले भने,‘सम्झौताविनै बालुवा उत्खननमा प्रयोग भएका डोजर र दुवानी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना तिराएका छौँ ।’

नदीबाट निकालेर भण्डारण गरिएका बालुुवाको केही दिनमै अनुुगमन गरेर जफत र लिलामी गर्ने तयारी गरेको पनि अध्यक्ष गर्बुजाले बताए ।

स्थानीय तहको प्रमुख आम्दानीको स्रोत रहेको नदीजन्य वस्तुको अवैध उत्खनन र चोरी निकाशीले गाउँपालिकाले राजस्व गुमाउने जोखिम छ ।

म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ एकाइका अध्यक्ष लेकबहादुर पुनले हालै गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुुनुवाइमा ठेक्का सम्झौताविनै उत्खनन् गर्ने र ठेक्का आह्वान गर्दा सहभागी नहुने प्रवृत्ति देखिएको विषयमा प्रश्न उठाएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०९:०९
Weather Update