News Griha :: न्यूजगृह
मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने

पोखरा— गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको बताए ।

‘मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ,ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ’,मन्त्री जुग्जालीले भने,‘जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागु भएरै छाड्छ ।’

मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागु भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उनले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताए ।

ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उनले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे । मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:१३
Weather Update