News Griha :: न्यूजगृह
पहिरोले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे
प्रतिनिधिमूलक तस्बिर

खोटाङ— पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिराेले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो ।

पहिरोले तामाङको घर पुरिँदा ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

गएराति झरेको पहिरोले तामाङको घरमा पूर्णरुपमा क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । पहिराेले ऐसेँलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घरमा क्षति पुगेको छ । घरभन्दा तलबाट गएको पहिरोले कामीको घर अगाडिपट्टिको बरण्डा भत्किएको वडा अध्यक्ष अरुण राईले जानकारी दिए ।

वर्षाका कारण झरेको पहिराेले गोठ भत्किँदा कामीको २ वटा भैँसी, २ वटा पाडा, एउटा गोरु र ७ वटा खसी बाख्रा मरेका छन् । पहिरोबाट कामीको गोठमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण गोठ ढल्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विश्वकर्माको एउटा गोरु मरेका छन् । ढलेको गोठले पुरिएर एउट गोरु र बाछो घाइते भएको वडा अध्यक्ष डम्बरबादुर खड्काले बताए ।

गोठ भत्किँदा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका राजेन्द्र प्रधानको एउटा भैँसी, एउटा पाडा र २ वटा बोका मरेका छन् । प्रधानको ३ तीन लाख ८ हजारको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राईको एउटा लैनो भैँसी र एउटा पाडा पुरिएर मरेको जनाइएको छ । पहिराेबाट राईको अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित राबुका देवेन्द्र राईको मतान भत्किँदा ५ वटा खसी बाख्रा मरेको छ । सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानका  कृष्ण कार्कीको बन्दै गरेको पक्की घर तथा डम्बर कार्की, कमानसिं राई, बलबहादुर राई, केशव परियार र दीपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घरमाथिबाट आएको पहिरोले ६ वटा घर उच्च जोखिममा परेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २२:२२
Weather Update