
काठमाडौं— तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघ चितवनले सामाजिक सञ्जालबाट भ्रम फैल्याउने र चरित्रहत्या गरेका भन्दै पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
परिषद्की अध्यक्ष विमला देवी गुरुङ र संघका अध्यक्ष लालप्रसाद गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै गुरुङ जातिको परम्परागत संस्कृति र जातीय भाइचारा तथा एकतालाई समेत खलल पुर्याउने गरी भरतपुर महानगर–१६ निवासी पूर्णीमाया गुरुङको भिडिओ र तस्बिर दुरुपयोग गरी उपाध्यायले ‘गोरु खाने धराने’ भनि फेसबुकमा पोस्ट गरेर चरित्रहत्या गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।
उनीहरूले सामाजिक एकता भंग गर्ने कार्यको घोर भर्त्सना गर्ने जनाउँदै संलग्न व्यक्तिहरू पूर्वसचिव उपाध्याय र सन्तोष रिजाललाई पक्राउ गरी कानुनबमोजिम कारबाहीका लागि माग गरेका हुन् ।
कारबाही नगरिए पीडितको न्यायका लागि विरोधका कार्यक्रमहरू घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन् ।