News Griha :: न्यूजगृह
नेपाल प्रहरीमा नेतृत्वको लागि ज्ञवाली, कुँवर र बज्राचार्यबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं— नेपाल प्रहरीको नयाँ नेतृत्वको लागि लविङ सुरु भएको छ । अहिलेका प्रहरी प्रमुख धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आगामी चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । तर, सिंह आफ्नो पदावधि थपका लागि भने दौडधुपमा लागेका छन्।

उनको पदावधि थपको लागि सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भने भएको छैन । ३० वर्षे सेवाअवघि तत्काल हटाउँदा विवाद हुनसक्ने विश्लेषण उनीहरूको छ ।  

सरकारले अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि थप नगरे उनका ब्याची एआईजी र डीआईजीले पनि दुई सातापछि अनिवार्य अवकाश पाउनेछन् । सिंहले अवकाश पाउने दिन नजिकिंदै गर्दा नेपाल प्रहरीमा नयाँ नेतृत्वको दौड भने सुरु भएको छ ।

सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा अघि बढाइसकेको छ ।  सरकारले गत शुक्रबार डीआईजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस ठगरेको हो । सरकारले उनीहरूमध्येबाट नै आईजीपी बनाउने छ ।

नेपाल प्रहरीमा हालका आईजीपी सिंहको नजिरबाट पनि यसपटक वरियताले भने खासै अर्थ राख्ने छैन् । अहिले बढुवा भएका पाँच जना एकै दिन बढुवा भएका अधिकारीहरु हुन् । यसअघि डेढ वर्षअघि एआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई छोडेर सरकारले सिंहलाई आईजीपी बढुवा गरेको थियो । त्यही नजिरअनुसार यसपटक सरकारले चाहेको खण्डमा पाँच जनामध्ये जो कोहीलाई पनि आईजीपी नियुक्त गर्नसक्ने छ । 

हालका आईजीपी सिंहले वरियतामा एक नम्बरमा रहेका कुँवरलाई अघि बढाउन खोजेका छन् । त्यसका लागि उनले लविङ समेत सुरु गरिसकेका छन् । अर्का डीआईजी थापा सके आफु बन्ने नभए कुँवरलाई नै बनाउने पक्षमा देखिएका छन् । त्यसमा आईजीपी सिंहकोसमेत साथ छ ।

कुँवर कांग्रेस निकट भनेर चिनिएका प्रहरी अधिकारी हुन् । थापाको सबै दलसंग निकट सम्बन्ध छ । दोस्रो नम्बरमा रहेका राईसमेत प्रहरी महानिरीक्षकको दौडमा छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलगायतको साथ छ । 
आईजीपी आफू अनुकुल बनाउन अहिले प्रभावशाली नेता र व्यापारीसमेत सक्रिय छन् । आईजीपीको लागि एक मात्र महिला भएकाले किरण बज्राचार्यको समेत सम्भावना छ । नयाँ आईजीपीका लागि कुँवरसंगै ज्ञवालीको सम्भावना सबैभन्दा बलियो छ । उनी नेपाल प्रहरीमा उच्च व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् । ज्ञवालीलाई माओवादी केन्द्रका अधिकांश नेताहरुको साथ छ । पछिल्लो समय ज्ञवाली, कुँवर र बज्राचार्यको बढी सम्भावना भएको स्रोत बताउँछ ।

 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १०:५१
Weather Update