News Griha :: न्यूजगृह
जागिरको फेन्सनपछि ‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

धादिङ— जिल्लामा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् ।

नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ–१२ सांकोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो ।

ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । 

यतिखेर कोपिला लाग्दै गरेको, फूल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।

उनले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाएका छन् । २०७८ सालबाट ड्रागन फुडखेती सुरु गरेका उनले दोस्रोपटकको आम्दानी लिन थालेका हुन् ।

अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म पुग्ने गरेका छन् । उनले भने, ‘घरैमा पुग्नेलाई प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेको छु ।’

टाढा–टाढाका मानिस खेती हेर्नका लागि मात्रै बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नका लागि फल किन्न बारीमै पुग्ने गरेका छन् । 

उनले भने, ‘ड्रागन फुडखेतीका लागि २२ लाख रुपैयाँ लगानी भइसकेको छ, यसलाई अझ विस्तार गर्ने सोचमा छु ।’

कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उनले व्यावसायिक ड्रागन फुडखेतीमा रमाउन थालेका हुन् ।

काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उनले बताए ।

नीलकण्ठ–१ का गणेश गुरुङले पनि यही फल दुई वर्षअघिदेखि बिक्री गरिरहेका छन् । तीन रोपनी जग्गामा दुई सय बोट ड्रागन लगाएका गुरुङले यो वर्ष बिक्री गरिरहेका छन् ।

भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गरेका गुरुङले अहिले आम्दानी लिइरहेका छन् ।

उनले बारीबाटै प्रतिकेजी पाँच सयदेखि छ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:४६
Weather Update