ग्यास ट्यांकर पल्टिँदा १ जनाको मृत्यु

चितवन — पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्यांकर पल्टिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको हो ।
ट्यांकरमा सवार २ जना घाइते छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र परिचय नखुलेका अर्का १ जना रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको कुरिनटारमा उपचार भइरहेको छ । अर्का १ जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनका अनुसार दुर्घटना सोमवार बिहान ६ बजे भएको हो । ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १०:३१