
काठमाडौं— कारागार व्यवस्थापन विभागले भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा हुलहुज्जत गर्ने ५७ जनालाई उपत्यका बाहिर स्थानान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सुधार गृह पर्सामा १८ जना, मकवानपुरमा १८, डोटीमा ७ र रूपन्देहीमा १४ जनालाई स्थानान्तरण गरेको हो । ‘सुधार गृहको विवाद समाधान गर्न उनीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको हो,’ विभागका महानिर्देशक काशीराज दाहालले भने ।
उनीहरु अधिकांश १८ वर्षमाथिका छन् । गत आइतबार २० वर्षीय एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सुधार गृहमा रहेकाले विद्रोह गर्ने क्रममा २ सय २१ जना भागेका थिए । तीमध्ये अझै ७ जना फरार छन् ।
सुधार गृहमा रहेका २ सय ९७ मध्ये ४३ जना बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक र किशोरहरू दुई समूहमा विभाजन भई आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्न थालेपछि स्थानान्तरण गरिएको कारागार विभागले जनाएको छ । एक जनाको मृत्युको विषयलाई लिएर सुधार गृह भित्रै आपसमा झगडा गर्ने र प्रहरीमाथि आक्रमण गर्नेलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।
उनीहरूमध्ये अधिकांशलाई जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागूऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको हो । भक्तपुरमा २ सय ९६ मध्ये १ सय ५४ जना जबर्जस्ती करणीमा परेका थिए । त्यस्तै ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए । अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्छ ।