
नुवाकोट— विदुर नगरपालिका— १ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई प्रशासनले बल प्रयोग गरेर शनिबार हटाएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो ।
घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुकुम्बासीको ढुङ्गामुढाबाट केही प्रहरी घाइते छन् । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको थियो। विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले पनि पटकपटक समय दिँदा पनि नहटेपछि जबर्जस्ती गर्नु परेको बताए । ‘उहाँहरूलाई समय दिएका थियौं,’ उनले भने, ‘जहिले पनि एकएक वटा बहाना गरेर बस्दै आए । अति भएपछि बल गरेर हटाउनु पर्यो ।’ सुकुम्बासीले भने जाने समय नै नदिई घरटहरा जबर्जस्ती भत्काएको बताएका छन् ।
२०७२ वैशाखको भूकम्पपछि विभिन्न ठाउँका विस्थापित सिम्बुटारमा बसोबास गर्दै आएका थिए । सुरुवातका केही वर्ष भूकम्पपीडितका बस्तीमा राहत पनि वितरण गरिएको थियो ।
सुरुमा ९३ घरपरिवार भूकम्पपीडित बसेका थिए । पछि २८ घरधुरी आफ्नो थातथलो फर्किए भने ६५ धुरी बसिरहेका थिए । भूकम्पपीडितका लागि निजी आवास निर्माणमा सघाउने सरकारी लाभग्राही सूचीमा परेर राहत लिए पनि थातथलो फर्किन नमानेका लाई विदुर नगरपालिकाले ०७५ देखि जग्गा खाली ३ पटक ताकेता गर्दा अटेर गरेको जनाएको छ ।