News Griha :: न्यूजगृह
एसिया कप : नेपाली टोली कति बलियो ? कुन खेलाडीको अवस्था कस्तो ?

काठमाडौं— एसिया कप २०२३ प्रतियोगिता खेल्नका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली पाकिस्तान पुगेको छ ।

एसिया कपमा नेपाल समूह ‘ए’मा छ । सोही समूहमा भारत र पाकिस्तान जस्ता देशहरू रहेका छन् । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्नेछ । नेपालले पाकिस्तानको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तानबीच भदौ १३ हुनेछ । नेपाली टोलीले अहिलेसम्म खेलेको प्रतियोगितामध्येको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ ।

एसिया कपका प्रतिस्पर्धी हेर्दा सबैभन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगाननस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । यी सबै देशहरू नेपालभन्दा बलियो अवस्थामा रहेको छ ।

नेपाली टोलीमा कुन खेलाडीको अवस्था कस्तो ?

रोहित पौडेल (कप्तान)

नेपाली टोलीका कप्तान पौडेलले २०१८ अगस्ट ३ मा नेदरल्यन्डविरुद्ध नेपाली टोलीमा डेब्यु गरेका हुन । उनले हालसम्म ५२ एक दिवशीय खेल खेलेका छन् । उनले एक हजार ४६९ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र ८ अर्धशतक बनानाएका छन् ।

अरिफ शेख

ब्याट्सम्यान अरिफ शेख २०१८ अगस्ट १ मा नेदरल्यान्डविरुद्ध नेपाली टोलीमा डेब्यु गरेका हुन । उनले हालसम्म नेपालको लागि ४७ एक दिवशीय खेल खेलेका छन् । उनले २५ को औसतमा ८७८ रन बनाएका छन् । उनको उच्चतम स्कोर ६६ हो । उनले ६ वटा अर्धशतक लगाएका छन् ।

आसिफ शेख (विकेट किपर)

आसिफ शेखले २०२१ सेप्टेम्बर ७ मा पपुवा न्युगिनीविरुद्ध नेपालका लागि डेब्यु गरेका थिए । उनले हालसम्म नेपालका लागि ४१ खेलमा एक हजार १८७ रन बनाएका छन् । उनले ३१ को औसतमा एक शतक र नौ अर्धशतक बनाएका छन् । उनको उच्चतम स्कोर ११० हो । उनले पछिल्ला पाँच खेलमा १२ को औसतले ५९ रन मात्र बनाएका छन् ।

दिपेन्द्र सिंह ऐरी

ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले २०१८ अगस्ट १ मा नेदरल्यान्डविरुद्ध नेपाली टोलीमा डेब्यु गरेका हुन । उनले हालसम्म नेपालका लागि ५० वटा एक दिवशीय खेल खेलेका छन् । उनले १९ रनको औसतमा ८५७ रन बनाएका छन् । उनको अधिकतम स्कोर १०५ हो । उनले एक शतक र तीन अर्धशतक बनाएका छन् । उनले बलिङतर्फ ३६ विकेट लिएका छन् । उनको वेस्ट फिगर ३/१८ हो ।

कुशल भुर्तेल

ब्याट्सम्यान कुशल भुर्तेलले २०२१ सेप्टेम्बर ७ मा पपुवा न्युगिनीविरुद्ध नेपालका लागि डेब्यु गरेका हुन । उनले नेपालका लागि ४४ खेल खेलेका छन् । उनले २३ रनको औसतमा ९८६ रन बनाएका छन् । उनको नाममा एक शतक र ६ अर्धशतक रहेको छ । उनको उच्चतम स्कोर ११५ हो । बलिङतर्फ ४ विकेट लिएका छन् ।

अर्जुन साउद (विकेट किपर)

विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद २०२२ नोभेम्बर १४ मा युएईविरुद्धको खेलमा नेपालका लागि डेब्यु गरेका हुन । उनी व्याकअप विकेट किपरको रुपमा नेपाली टोलीमा समावेश छन् । उनले नेपालका लागि नौ खेलमा १९ रनको औसतमा १७४ रन बनाएका छन् ।

भीम सार्की

ब्याट्सम्यान भीम सार्कीले २०२२ मार्च २२ मा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका लागि डेब्यु गरेका हुन । उनले १९ खेलमा ३५ रनको औसतमा ४५२ रन बनाएका छन् । उनले तीन अर्धशतक बनाएका छन् । उनको सर्वाधिक स्कोर ७७ हो । पछिल्ला पाँच खेलमा उनले ९ रनको औसतमा ४७ रन बनाएका छन् ।

करण केसी

टिममा अलराउण्डरको रुपमा रहेका फास्ट बलर करण केसीले २०१८ अगस्ट १ मा नेदरल्यान्डविरुद्ध टोलीमा डेब्यु गरेका हुन । उनले हालसम्म नेपालका लागि ४६ वटा एक दिवशीय खेल खेलेका छन् । उनले ७७ विकेट निकालेका छन् । उनको वेस्ट फिगर ५/३३ हो । उनले ब्याटिङतर्फ १४ रनको औसतमा ३४९ रन बनाएका छन् ।

कुशल मल्ल

ब्याटिङ अलराउण्डर कुशल मल्लले २०२० फेब्रुअरी ८ मा युएईविरुद्धको खेलमा टोलीमा डेब्यु गरेका हुन । उनले नेपालका लागि २७ खेलमा २७ रनको औसतमा ६ २६ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १०८ रन हो । उनले एक शतक र चार अर्धशतक बनाएका छन् । उनले बलिङतर्फ १८ विकेट लिएका छन् ।

प्रतिश जिसी

बलिङ अलराउण्डर प्रतिश जिसीले २०२३ फेब्रुअरी २७ मा पवुवा न्युगिनीविरुद्धको खेलमा टोलीमा डेब्यु गरेका हुन । उनले दुई विकेट लिएका छन् भने ११ रन बनाएका छन् ।

सोमपाल कामी

फास्ट बलिङ अलराउण्डर सोमपाल कामीले २०१८ अगस्ट १ मा नेदरल्यान्डविरुद्ध टोलीमा डेब्यु गरेका हुन । उनले हालसम्म नेपालका लागि ४७ वटा एक दिवशीय खेल खेलेका छन् । उनले अहिलेसम्म नेपालका लागि ६३ विकेट लिएका छन् । उनको वेस्ट फिगर ५/३३ हो । ब्याटिङतर्फ उनले २१ रनको औसतमा ४ ७८ रन बनाएका छन्् । उनको सर्वाधिक स्कोर ६३ रन हो ।

गुल्सन झा

गुल्सन झाले २०२१ सेप्टेम्बर १७ मा युएसएविरुद्धको खेलमा टोलीमा डेब्यु गरेका हुन । उनले नेपालको लागि २२ खेलमा २१ विकेट लिएका छन् । उनको वेस्ट फिगर ३/२८ हो । उनले ब्याटिङमा पनि राम्रो योगदान गरेका छन् । उनले ३५ रनको औसतमा ४५२ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ६७ रन हो ।

सन्दीप लामिछाने

नेपालका मेन बलरका रुपमा रहेका स्पिनर सन्दीप लामिछाने नेपालका धेरै अनुभवी बलर हुन । उनले २०१८ अगस्ट १ मा नेदरल्यन्डविरुद्ध टोलीमा डेब्यु गरेका हुन । उनले हालसम्म नेपालका लागि ४९ वटा एक दिवशीय खेलमा १११ विकेट लिएका छन् । उनको वेस्ट फिगर ६/११ हो । उनले तीनपटक ५ विकेट र आठ पटक चार विकेट लिएका छन् । उनले ब्याटिङमा १५ रनको औसतमा ३ ६७ रन बनाएका छन् ।

ललित राजवंशी

बलर ललित राजवंशीले २०१९ जनावरी २५ मा युएईविरुद्धको खेलमा टोलीमा डेब्यु गरेका हुन । उनले नेपालका लागि २१ खेलमा २८ विकेट लिएका छन् । उनको वेस्ट फिगर ५/२० हो । उनले एक पटक पाँच विकेट लिएका छन् । दुई पटक चार विकेट लिएका छन् ।

सन्दीप जोरा

ब्याटर सन्दीप जोराले नेपालका लागि ५ खेलमा ११ रनको औसतमा ५६ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर २८ रन रहेको छ ।

किशोर महतो

किशोर महतोले पनि नेपालका लागि दुई वटा खेल खेलेका छन् । उनले २ खेलमा नट आउट एक रनमा रहे । उनले दुई विकेट लिए ।
 
मौसम ढकाल

बलर मौसम ढकालले राष्ट्रिय टोलीमा पहिलोपटक परेका हुन् । उनले एक मात्र लिस्ट ‘ए’ खेल युएईविरुद्ध खेलेका छन् । उनले उक्त खेलमा दुई विकेट लिएर ४४ रन बनाएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:५३
Weather Update