
काठमाडौं— नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवनको बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा धादिङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- ४ का २५ वर्षीय लादेन भन्ने विनय गौतम र सिरहाको धनगढीमाई नगरपालिका- १ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन् ।
श्रेष्ठ बिहीबार धादिङको ताल्ती जङ्गलमा मृत फेला परेका थिए । मृतक परिवारको किटानी जाहेरीका आधारमा गौतमलाई धादिङको गजुरी गाउँपालिका-२ मझुवाडाँडाबाट र साहलाई इलाका प्रहरी कार्यालय लहानको सहयोगमा उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए । साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जङ्गलमा सडेको अवस्थामा फेला परेको थियो ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न प्रहरीले अदालतबाट ९ दिनको म्याद पाएको छ ।