
काठमाडौं— नेपाल प्रहरीले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिसा’ मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका ३ नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हाे ।
पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर,काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल,कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले सर्बियामा गएका पीडितले चित्त बुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकीछिपी ग्रीस प्रवेश गर्न खोज्दा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानीले अपहरण गरी डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना र डर त्रास देखाइ ज्यान मार्ने धम्की दिइ फिरौती १५ हजार मागेकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका कुँवर नेपालमा फिरौती रकम लिने,अर्याल नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क गर्ने, बेलबासे दुबईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने र थापा दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनी सम्पर्क गर्न भूमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको प्रवक्ता अधिकारीले बताए ।
प्रहरीले ग्रीसमा बन्धक बनाइ राखेका पीडितलाई सकुशल उद्धार गरेको छ । पक्राउ ४ जनालाई नै अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीआईबीले वैदेशिक रोजगारीका लागि विदेश जाँदा सरकारको श्रम स्वीकृति भएको देशमा मात्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी जान अनुरोध गरेको छ ।