
काठमाडौं— धरान उपमहानगरका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव र भाइचारा कायम गर्न अपिल गरेका छन् ।
पछिल्लो केही दिनदेखि धरानमा भएको गतिविधिलाई लक्षित गरी मेयर साम्पाङले सद्भाव कायम गरी अगाडि बढ्न विज्ञप्ति जारी गर्दै अपिल गरेका हुन् ।
यस क्रममा उनले केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ उनले भने ।
मेयर साम्पाङले समाजमा देखिएको अशान्ति व्यवहारमा स्थान पाउँदै गए सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द निम्त्याउने भन्दै सकारात्मक हुन आग्रह गरे ।