News Griha :: न्यूजगृह
दश दिनमा आठ जनाले आत्महत्या गरेपछि प्रहरीले सुरु गर्‍यो सचेतना अभियान

काभ्रे— दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालय स्तरमा सचेतना अभियान थालेको छ । 

उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालय स्तरमा सचेतना अभियान थालेको जनाएको छ ।

दिनहुँ आत्महत्याका घटना भइरहँदा इलाका प्रहरी कार्यालय बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अभियान सञ्चालन गरेको हो ।

‘जनचेतनामूलक मनोबल अभिवृद्धि कार्यक्रम’ नाम दिई सञ्चालन गरिएको सचेतनाका लागि अधिकृत स्तरका प्रहरी तथा बनेपास्थित शिर मेमोरियल अस्पतालका मनोसामाजिक परामर्शकर्तासहित विद्यालयका कक्षा कोठामा कार्यक्रम सञ्चालन गरिएको हो  ।

‘दिनदिनै आत्महत्याका डर लाग्दा घटना भएकाले अभियान सञ्चालन गरिरहेका छौँ,’ इप्रका बनेपाका इञ्चार्ज प्रहरी नायब उपरीक्षक रेशम बोहोराले भने ।

पहिलो चरणमा एक हप्ता सञ्चालन गरिने सचेतनामा करिब ५० विद्यालयमा कार्यक्रम गरिने योजना बनाएको जनाइएको छ ।

विद्यालय स्तरको अभियान प्रभावकारी हुने अपेक्षा गरिएको सहभागी अभिभावकले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:३०
Weather Update