News Griha :: न्यूजगृह
ऐतिहासिक १३ तले मन्दिरको प्रचारमा जुट्दै स्थानीय

अर्घाखाँची— जिल्लाको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि ओझेलमा पर्दै गएको छ ।

२००८ सालमा स्थापना भएको मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनः निर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय मन्दिरको मर्मतसँगै प्रचारमा लागेका हुन् ।

मन्दिर परिसरभित्र शिव, गणेश र नागका मूर्ति छन् । तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेयले मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्वीकार्दै प्रचारका कार्यक्रम गर्दै जाने बताए ।

मन्दिरको धार्मिक र ऐतिहासिक महत्वलाई बाहिर ल्याउन स्थानीय युवाको सहयोगमा काम थालिएको उनको भनाइ थियो । स्थानीय युवा शोभाखर न्यौपानेले मन्दिरको प्रचारमा आफूहरू लागिरहेको बताउँदै यसतर्फ मिडियाले ध्यान दिनु पर्ने बताए ।

‘जिल्लामै १३ तले मन्दिर बन्दा धेरैलाई थाहा नहुनु अनौठो कुरा हो, मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ,’ मन्दिरमा पुजारी विष्णुप्रसाद मरासिनीले भने, ‘यसको प्रचारप्रसार गर्न सके जिल्लामा धार्मिक पर्यटक आउने वातावरण बन्छ ।’

सीमित स्रोत र साधनका बीचमा ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनको काम थालिएको छत्रदेव गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:१०
Weather Update