पाँच किलो चाँदीको सामानसहित भारतीय नागरिक पक्राउ

सिरहा– जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीबाट करिब पाँच किलो चाँदीको सामानसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मधुवनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
साहको कम्मरमा बाँधेको अवस्थामा उक्त सामान फेला पारेपछि पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १३:२६