News Griha :: न्यूजगृह
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पोखराबाट पक्राउ, जुवा खेलेको आरोप

काठमाडौं— जुवा खेल्दै गरेको अवस्थामा कास्की प्रहरीले मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–८ सिर्जनाचोक स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । तर पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ । गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ ।

जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनलाई छुटाउन कास्की कांग्रेस नेताहरू सक्रिय भएका छन्  । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झुक्काएका थिए । जुवाखालबाट उनीसहित मुस्ताङको घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन पक्राउ परेका छन् ।

उनीहरूलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी कास्की प्रहरीले गरेको छ 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:४५
Weather Update