
काठमाडौं— ‘आइफोन’ उपहार पाउने आश्वासनको लोभमा फस्दा महिलाहरूको झण्डै आधा करोड रकम ठगी भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतबाट पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।
उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झण्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए ।
त्यसपछि ठगिएको चाल पाएका पीडितले साइबर ब्युरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान अगाडि बढाइएको थियो ।
पीडितबाट झण्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्युरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
‘तपाईं लक्की हुनु भएको छ, तपाईले ‘लक्की ड्र’मार्फत आइफोन जित्नु भएको छ, हामी आइफोन पठाउँदै छौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनु पर्छ,’ भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको ब्युरोमा जाहेरी परेको रायले बताए ।
प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेको छ ।
उनीहरूालाई ललितपुर कुपण्डोलबाट पक्राउ गरिएको छ । उनीहरूको साथबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ ।
यस्तै, उनीहरूको साथबाट सात थान मोबाइल, १८३ थान सिमकार्ड र १२ थान एटीएम कार्ड बरामद गरिएको छ ।
उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।