
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेकाे केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
कडायतका अनुसार उनको साथबाट प्रहरीले १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको १ हजार १ सय थान गरी ८ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको कडायतले बताए ।