News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट

काठमाडौं— उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबारकाे भेटमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेबनानबीच असल सम्बन्ध रहेको बताउँदै शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफील) मिशनमा नेपाली शान्ति सैनिक लेबनानमा तैनाथ भई त्यहाँको शान्ति प्रक्रियामा योगदान पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे ।

उनले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको बताए । नेपाल र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावना भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेबनानका तर्फबाट लगानीका लागि आह्वान गरे ।

उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेबनानमा ५ सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रूपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुआत गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुंगा सावित भएको बताए ।

सन् १९७८ देखि युनिफिल मिसनअन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिक तैनाथ भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल ८ सय ७५ जना शान्ति सैनिक लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उनको भनाइ थियो ।

सो अवसरमा नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोजायलले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेबनानी जनताको सकारात्मक भावना रहेको कुरा औंल्याए ।

उनले दुई देशबीच पर्यटन, उद्योग, जलस्रोतलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताए ।

भेटवार्तामा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २१:२९
Weather Update