
झापा— वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका–६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ ।
राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया गएका थिए ।
मलेसिया पुगेको एक सातापछि आफूमाथि ‘गैरकानुनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उनको त्यसपछिको वास्तविक अवस्थाबारेमा परिवारसमेत बेखबर छ ।
‘गैरकानुनी कामदार’ भएको आरोप लागेपछि घिमिरेले सम्पर्क गरेर आफू अप्ठ्यारोमा रहेको पटकपटक जानकारी दिने गरेको र विगत छ वर्षयता सम्पर्कसमेत टुटेको उनकी आमा सानी ढकाल घिमिरेले बताए । विदेश जाँदा १९ वर्षका घिमिरेको उमेर अहिले ३७ वर्ष पुगिसकेको छ ।
‘छ वर्षदेखि छोराको कुनै खबर छैन,’ उनले भने, ‘मलेसिया पुगेको सात-आठ दिनमै ‘इलिगल’ भएको आरोप लगायो आमा भनेर फोन गरेको थियो, अहिले मेरो छोरा जे-जस्तो अवस्थामा भए पनि खोजी गरिदिनु पर्यो ।’
वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको कुनै गल्तीका कारण ‘गैर कानुनी’ कामदारको आरोपमा घिमिरे मलेसियाको कुनै जेलमा हुन सक्ने परिवारको आशंका छ ।
उनकी आमाले मेनपावर कम्पनीसँग भएका विभिन्न सम्झौताका कागज पत्र र फोटो बोकेर विभिन्न निकाय तथा जनप्रतिनिधिको ढोका ढक्ढकाइसकेको बताइन् ।
‘वडाध्यक्षलाई भेटेँ, पुलिसलाई भेटेँ,’ उनले भनिन्, ‘सबैले कुरा सुन्नु भयो, कागज पत्र हेर्नु भयो र हुन्छ खोजी गर्न लगाइदिउँला भन्नु हुन्छ, काम चाहिँ कसैले पनि गरिदिनु भएन ।’
उनले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् । मलेसियाको ‘एक्सडी एसडीएन बीएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पुर्याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ ।
घिमिरेको पासपोर्ट नं २४०१३४७ रहेको छ । रोजगारसम्बन्धी सम्झौता पत्रमा मलेसियाको क्वालालम्पुरस्थित तत्कालीन शाही नेपाली राजदूतावासले प्रमाणित गरी छापसमेत लगाएको छ ।
श्रम तथा रोजगार प्रवद्र्धन विभागले ०६१ चैत ८ गते दिएको अन्तिम स्वीकृति पत्रअनुसार राज ओभरसिज प्रालिमार्फत झापाका घिमिरेलगायत २९ नेपाली युवा एकैखेपमा मलेसिया गएको पुष्टि भएको छ ।
ती सबै नेपाली कामदार मलेसियाको एक्सडी एसबी कम्पनीमा काम गर्नका लागि भनेर गएका थिए । घिमिरेसँगै मलेसिया गएका अन्य नेपालीमा भीमबहादुर तामाङ, विनोद लिम्बु, बुद्धबहादुर भारती, छम्मसिंह थापा, धनसिंह विष्ट, गणेश भण्डारीलगायत रहेको वैदेशिक रोजगार विभागले जारी गरेको अन्तिम स्वीकृति पत्रमा उल्लेख छ ।