News Griha :: न्यूजगृह
धनकुटामा निःशुल्क आँखाको शल्यक्रिया

धनकुटा— जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ । पालिकाले यही चैत्र १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट एक सय ७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो ।

नेपाल नेत्रज्योति संघका डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति संघ र सेभा फाउन्डेसनको सहयोग तथा पालिकाको व्यवस्थापनमा उनीहरूको आँखा शल्यक्रिया गरिएको हो । पालिकाले चैत्र १८ र १९ गते शिविर सञ्चालन गरेर मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो ।

उनीहरूको कीर्तिपुर आँखा अस्पताल काठमाडौंका डा.एरिक वैद्यसहितको सात जनाको टोलीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डा.समिर चापागाईँले जानकारी दिए । अन्य बिरामीहरूको भने प्रतिकूल मौसम र केही अनियन्त्रित रक्तचापका कारण शल्यक्रिया हुन नसकेको चापागाईँले बताए ।

वर्षाका कारण गाउँमा शल्यक्रियासम्बन्धी गलत हल्ला चलाइएकाले पहिचान भएका सबै बिरामी उपचारमा नआएको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । उपचारका लागि गाउँ–गाउँबाट आएका बिरामीहरूको खानेबस्नेलगायतका बन्दोबस्ती पालिकाले गरेको थियो ।

आफ्ना ७२ वर्षीय बुबा र ६८ वर्षीया फुपूको आँखा शल्यक्रिया गर्न आएका वडा नं ३ का नेत्र बरालले यस शिविरले आफू ५० हजार रुपैयाँ बढी आर्थिक भारबाट मुक्त भएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २२:११
Weather Update