
स्याङ्जा— दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहरोका कारण छाप्राक जोखिममा छ ।
गाउँलेको एउटै पिरलो छ । कतिबेला के हुन्छ ? पानी पर्दा होस् या चर्को घाम लाग्दा होस् । उनीहरूलाई उही राते पहरोले निद हराम गराउँदै आएको छ ।
छाप्राकको बस्तीमा केही दिनअघि मात्रै पहरोबाट दुई ठूला ढुंगा फुटेर आए । स्थानीय श्यामबहादुर सार्की पहरोबाट फुटेर आएका दुई ढुंगा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउँछन् ।
‘फुटेर आएको ढुंगा घरको नजिकै आएको छ,’ उनले भने, ‘घरभन्दा माथि बाँसघारी भएकाले ढुंगाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुंगा घरनजिक आएको छ ।’
बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन । नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन । उक्त पहिरोबाट १७ घर प्रत्यक्ष रुपमा प्रभावित हुने सार्कीले बताए ।
‘घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ,’ उनले थपे, ‘अन्त कहाँ गएर बस्नु ? संख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला, गाउँ नै उठ्दा त्यो सम्भव छैन ।’
वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् दुई ठूला ढुंगा खस्दा घर नजिकैको बारीमा रोकिएकाले जनधनको क्षति हुन नपाएको बताउँछन् ।
दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा २०४ घर छन् । उक्त पहिरोले हालसम्म १७ घर उच्च जोखिममा छन् । अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताए ।
‘बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ, यसबाट ढुंगालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन,’ उनले भने, ‘यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरूले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनु भएको छ ।’
बस्ती नजिकै ढुंगा खसेपछि गाउँले त्रसित छन् । केही दिनअघि जोखिम स्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो ।
गाउँमाथि रहेको पहराबाट दुई ठूला ढुंगा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उनले बताए । लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनु पर्ने उनको भनाइ थियो ।
‘तत्कालै बस्ती सार्न सकिँदैन,’ उनले थपे, ‘दीर्घकालीन रुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।’