
काठमाडौं— त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये चार जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका चार जनामा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का अन्दाजी २५ वर्षका सविन रम्तेल र कास्कीको फूलबारीका अन्दाजी २५ वर्षका सुमन थापा छन् ।
बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए । बुधबार बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा १६ जना घाइते छन् ।
तीमध्ये १४ जनाको उपचार काठमाडौंमा भइरहेको छ । साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। यसबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।