
भोजपुर—टेम्केमैयुङगाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।
गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । पुल बगेपछि बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले बताए ।
‘बाढीले पुल बगाउँदा जनजीवन प्रभावित भएको छ,’ उनले भने, ‘पुलको कारण बालबालिकालाई विद्यालय सम्म नै आउन कठिनाइ भएको छ । पानी परेको अवस्थामा उनीहरूलाई झनै जोखिम छ ।’ खोलामा चाँडो पुल बनाउन स्थानीयले तीन तहकै सरकारसँग माग गरेका छन् ।
बाढीले पुल बगाउँदा स्थानीयको जनजीवन निकै कष्टकर बनेको टेम्केमैयुङगाउँपालिका–९ का वडाध्यक्ष नभराजमाङ्गपाहाङ्गले राईले बताए । बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ वटा सिँचाइ कुलो बगाएको उनको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए ।
‘झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सबै सडक बगाएको छ,’ उनले भने, ‘सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् भने सुत्केरी, ज्येष्ठ नागरिक, अशक्तलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ ।’