News Griha :: न्यूजगृह
डोलेश्वर मन्दिरमा आज भक्तजनले शिला छोएर पूजा गर्न पाउने, खोलियो ४ वटै ढोका

भक्तपुर— भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बुधबार चारै ढोका खुला भएका छन् । साथै भक्तजनले शिला छोएर पूजा गर्न पाउने छन् ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला बुधबार नै समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ ।

आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:२९
Weather Update