
भक्तपुर— मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले मंगलबार थप १० जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका २ सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये मंगलबार दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
फरार रहेकामध्ये सोमबार रातिसम्ममा २ सय ४ जनालाई पक्राउ गरेको र मंगलबार थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले जानकारी दिए । बाँकी ७ जना पनि बुधबारसम्ममा पक्राउ गरिसक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो ।