News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीका ५६ एसपीमा र ८४ जना डीएसपीमा बढुवा सिफारिस

काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले ५६ जना एसपीमा र ८४ जना डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ । बढुवा हुने एसपी सि.सं.३ र डीएसपी सि.सं.७ का रहेका छन् । २०६० साल भदौ २९ गते भर्ना भएका सि.सं.३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना मंगलबार एसपी भएका हुन् ।

यसैगरी २०६४ सालको सि.सं.७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेको छन् भने मंगलबार बाँकी ८४ जना बढुवा भएका हुन् । यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं.८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी भएका छन् ।

डीएसपी भएका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर गरिएको छ । सि.सं.३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाहिँ दोस्रो लटमा डीएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए ।

गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपीदेखि सहायक हवलदारसम्मको बढुवाको लागि सूचना प्रकाशित गरेको थियो । जसअनुसार करिब १ महिनाको बिचमा एसएसपी १२,एसपी ५६,डीएसपी ८४,इन्सपेक्टर ७३, वरिष्ठ सइ ५०, सई १ सय ४३, असई ८२, वरिष्ठ हवलदार १ सय १८, हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरी कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:१५
Weather Update