News Griha :: न्यूजगृह
तनहुँमा सम्बन्धविच्छेद बढ्यो: महिलाको माग पूरा नहुनु र वैदेशिक रोजगारी प्रमुख कारण

तनहुँ— आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार ९२४ मुद्दा दर्ता भएकामा ९२७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । 

त्यसमध्ये ७५९ फछ्र्यौट भई १६८ सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौटको चरणमा रहेको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी, कूल दर्ता भएका मुद्दामध्ये एक हजार ८२३ फछ्र्यौट भई एक हजार १०१ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । 

अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढिरहेका छन् । त्यसअनुरुप कूल मुद्दाको ३१ दशमलव सात प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिका पत्नी, सानै उमेरमा प्रेम विवाह गरेका र उमेर परिपक्व भएपछि आपसी कुराकानी नमिल्दा सम्बन्धविच्छेद हुने गरेको उनको भनाइ थियो ।

यस्तै, अन्तरजातीय विवाहपश्चात परिवारले नस्वीकार्दा, अपेक्षाअनुरुप महिलाको माग पूरा नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । 

अदालतमा मुद्दा ल्याएर दण्ड दिइनु मात्रै विकल्प नभएकाले मनोसामाजिक परामर्श दिन आवश्यक देखिएको जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बताए ।

‘मानिसमा अझै पनि सचेतना जगाउन आवश्यक छ,’ उनले भने, ‘यस्ता कार्यलाई न्यूनीकरण गर्दै कानुनी कारबाहीमा कमी ल्याउन सक्नु पर्छ ।’

अंशबन्डाका ५०९ मुद्दामा २५९ फछ्र्यौट भई २५० बाँकी रहेका छन् । विवाहसम्बन्धी ३० मध्ये १५ फछ्र्यौट भएका छन् भने १५ बाँकी रहेका छन् । 

लिखत बदरका १७६ मा ७० फछ्र्यौट भई १०६ प्रक्रियामा रहेका छन् । त्यसैगरी लेनदेनका १२७ मध्ये ८२ फछ्र्यौट भई ४५ प्रक्रियामा रहेका छन् । 

जग्गासम्बन्धी २४ मध्ये १३ फछ्यौट भएका छन् भने ११ फछ्र्यौट हुन बाँकी रहेको सो कार्यालयले जनाएको छ । बहुविवाहका २३ मध्ये १२ फछ्र्यौट भई ११ मुद्दा प्रक्रियामा रहेका छन् । 

जबर्जस्ती करणीका ७२, कर्तव्य ज्यानका ३४, ज्यान मार्ने उद्योगका २३, आत्महत्या दुरुत्साहनका आठ, हाडनाताका आठ मुद्दा दर्ता भएको स्रेस्तेदार पौडेलले बताए ।

जबर्जस्ती करणी उद्योगका छ, बालयौन दुरुपयोगका चार, गर्भपतनका तीन, छुवाछूतका दुई र बालविवाहका एक लगायतका मुद्दा दर्ता भएकामा करिब ५० प्रतिशत मुद्दा फछ्र्यौट भइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:४४
Weather Update