News Griha :: न्यूजगृह
बाजुरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला

बाजुरा— त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नवजात शिशु झाडीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो ।

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए ।

नवजात शिशु बालक रहेको प्रहरीको भनाइ छ । नवजात शिशु फ्याँक्ने मान्छेको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २१:१६
Weather Update