
काठमाडौं— हङकङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत देखिएको छ ।
हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।
उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको बताए । ‘९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो,’ उनले भने ।
टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए ।
प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ । बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।