News Griha :: न्यूजगृह
बाढीले ढालेका सीमा स्तम्भ संरक्षणका लागि समिति गठन

झापा— गत असारमा आएको बाढीले दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकामा ४ वटा सीमा स्तम्भ ढले । कमल खोलामा आएको बाढीका कारण गौरीगञ्ज क्षेत्रभित्र मात्रै ढलेका ४ वटा सीमा स्तम्भ ढलेको महिनादिन बितिसक्दासमेत उठाउन चासो नखेखाएको भन्दै गौरीगञ्ज गाउँपालिका–५ का वडा अध्यक्ष विजयसिंह गन्गाईको संयोजकत्वमा ११ सदस्यीय समिति सीमा स्तम्भ संरक्षण समिति गठन भएको छ ।

नेपाल–भारतको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भ ढलेसँगै सीमाको रेखदेख र सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

सीमा क्षेत्रको सुरक्षा र सीमा स्तम्भको रेखदेखका लागि बसेको सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो । बाढीका कारण  गौरीगञ्ज–२ स्थित लालमाटी छेउ दशगजामा रहेको १४०/१५ नम्बरको सीमास्तम्भ ढलेको थियो ।

त्यस्तै वडा नम्बर ४ स्थित  अल्ताबारीमा रहेको १४९/२६ नम्बरको सीमा स्तम्भ, वडा नम्बर २ आमगाछी छेउमा रहेको पिलर नं १४५/११ र वडा नम्बर ४ मा अल्ताबारीमा रहेको पिलर नं १४९/८ ढलेका थिए ।

समितिले गौरीगञ्ज गाउँपालिकाको दक्षिणी सीमासँग जोडिएको खुल्ला सीमाबाट हुनसक्ने आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने, सीमा स्तम्भ डुबानमा परे वा जोखिममा भए त्यसको जानकारी दिने र सीमा क्षेत्रका बारेमा महिनामा एक पटक बैठक बसी छलफल गर्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक अस्मिनकुमार थापाको रोहवरमा समिति निर्माण गरिएको हो । समितिको संयोजकमा वडा अध्यक्ष गन्गाई, सदस्यहरूमा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक कार्की, सशस्त्र प्रहरी निरीक्षक रुद्र बुढाथोकी, वडा सदस्य देवनारायण गन्गाई, गन्गाई समाजका सहदेव गन्गाई, अमर खेलकुदका प्रतिनिधि अशोकराज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि रोशन यादव, जनता बालविकास प्राविका ममताकुमारी सिंह, नागरिक समाजका प्रतिनिधि सन्तोष गन्गाई, गोपालप्रसाद गन्गाई र पत्रकार आत्माराम राजवंशी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २१:२३
Weather Update