News Griha :: न्यूजगृह
 खुल्यो बेँसीसहर–चामे सडक
प्रतिनिधिमूलक तस्बिर

लमजुङ— पहिरोले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।

आइतबार बिहान ७ बजे गएको पहिरोले यस सडकखण्डअन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो ।

डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका–६ खरखरे भीर, मर्स्याङ्दी गाउँपालिका–४ स्थित उक्त तीन ठाउँमा गएको पहिरो हटाएसँगै आइतबार दिउँसोदेखि पुनः सडक सञ्चालनमा आएको हो ।

उक्त कार्यालयका अनुसार प्रत्येक पहिराले १५/२० मिटर सडक अवरुद्ध बनाएको थियो । सडक खुलेसँगै अलपत्र परेका सवारी साधनहरू यतिबेला सञ्चालनमा आएको उनको भनाइ छ ।

यस सडकखण्डमा दिनहुँजसो पहिराले सडक अवरुद्ध हुने गर्नाले यात्रुलाई सास्ती हुँदै आएको छ । यसअघि शनिबार नासों गाउँपालिका–१ ताल डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २१:१७
Weather Update