
काठमाडौं— बाराको देवताल गाउँपालिका—३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले चोरिएका २ बच्चाहरूसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत—४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले सोही गाउँपालिका—३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका २ वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए ।
सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा २ बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए । नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।