1680419918.jpg)
काठमाडौं— उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले माग सम्बोधन गर्ने आश्वासनसहित आन्दोलनरत मिटरब्याज पीडितलाई बिदाइ गरेका छन् ।
अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास्त रहन आग्रह गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग पाँच बुँदेसहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् ।
उनले भने, ‘तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।’
घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो ।
मन्त्री श्रेष्ठले भने, ‘उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।’
वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए। ‘उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ’, उनले भने ।
पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन् ।
‘सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ’, सिरहाका श्यामकुमार ठाकुरले भने, ‘हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।’
मिटरब्याज पीडितहरु महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।