रसुवामा २ केजी सुन बरामद, दुई पक्राउ

काठमाडौं— प्रहरीले रसुवाबाट २ केजी सुन सहित २ जनालाई पक्राउ गरेको ।
पक्राउ पर्नेमा २४ वर्षीय सुदीप शेर्पा छन् । टिमुरेबाट स्याफ्रुबेँसी गइरहेका शेर्पालाई शनिबार साँझ सुरक्षा जाँच गर्दा २ केजी सुन फेला परेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।
‘नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको हो,’ उनले भने ।
बरामद सुन टिमुरेका फुर्साङ्बु शेर्पाले दिएको सुदीपले बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। बरामद सुन काठमाडौं ल्याउन लगिएको खुलेको डीएसपी बुढाथोकीले बताए ।
‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं‘’, उनले भने ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १३:२३