
कास्की— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर दोषीमाथि कारबाही गर्ने बताएका छन् ।
राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनको भनाइ थियो ।
पोखरामा आयोजना पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।
‘यसअघि यस्तै काण्डमा संसदबाट समिति बनाइयो, समितिको रिपोर्ट आयो, सिद्धियो, अर्को एक पटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुन काण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो अन्य केही पनि आएन,’ उनले भने, ‘न सुन आयो, न सिफारिस कार्यान्वयन भयो ।’
मन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेला प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति तथा योजनाअनुसार अगाडि बढाइने उनको भनाइ थियो ।
‘सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन, गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढंगले अगाडि बढाउने, निरन्रता दिने र सरकारले अहिले चालेको सुशासनको अभियान जुन समृद्धिका आधारका लागि गरिरहेका छौँ, त्यसलाई पनि निरन्तरा दिने गरी अघि बढेका छौँ,’ उनले भने ।
उनले पार्टीले तय गरेको रुपान्तरण अभियानको तयारीका लागि हाल देशभर पार्टीका बैठक सञ्चालन भइरहेका जानकारी दिए ।