News Griha :: न्यूजगृह
भाइको हत्या आरोपमा दुई पक्राउ

झापा— जिल्लाको मेचीनगर नगरपालिका-८ मुनियाँ टोलका मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् ।

सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

गत बुधबार साँझ हराएका सुन्दरको शव बिहीबार बिहान घर नजिकैको खोल्सीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो ।

अभियुक्तले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेका छन् । प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घटना भएको दिन सुन्दर साँझपख नजिकैको विद्योदय आधारभूत विद्यालयमा फुटबल हेर्न भनी घरबाट निस्केका थिए । घर फर्किनुअघि अभियुक्तहरूले नियन्त्रणमा लिएर सुन्दरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:१३
Weather Update