
धादिङ— पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसादजैसवारले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी- ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशिष केसी र सल्यानको बाघचौर नगरपालिका– १० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।