News Griha :: न्यूजगृह
कानुनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध छ : सभामुख घिमिरे

धुलिखेल—सभामुख देवराज घिमिरेले कानुनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् ।

संघीय संसद्वारा शुक्रबार आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको बताए ।

सभामुख घिमिरेले भने,‘संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।’

सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा वस्तुगत परिस्थिति निर्धारण गर्ने बताए ।

संसद्लाई सबै खाले समस्या समाधान गर्ने थलो बनाउन आवश्यक रहेको बताउँदै उनले सत्तापक्ष र प्रतिपक्षलाई आआफ्नो अडानमा लचकता देखाई संसद् सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सुझाव दिए ।

उपसभामुख इन्दिरा रानाले पत्रकारिता पेशाको मर्यादा र ओजलाई बुझेर मात्र काम गर्न सुझाव दिइन् । उनले भनिन्,‘पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले राज्यले नै सेवा, सुविधा र सूचना उपलब्ध गराउनुपर्छ, पार्टीको भरिया बनाउनुहुन्न ।’

महासचिव डा.भरतराज गौतमले संसद् सचिवालयले सेवा प्रवाह र पत्रकारको भोगाइबीच तादात्म्यता मिलाउन आफूहरू प्रयत्नशील रहेको बताए ।

सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै समाचार सम्प्रेषणका लागि कागजात र समाचारको पहुँच सुनिश्चित गराउन सचिवालय र संसदीय दलको भूमिका महत्त्वपूर्ण हुने बताए ।

सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् र संसदीय समितिमा पत्रकारको पहुँचको स्थिति दक्षिण एसियामै नेपालमा सहज र नियमित रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:४२
Weather Update