पाँच वटा राँगा मारेर भागेको बस नियन्त्रण, चालकमाथि अनुसन्धान सुरु

बाँके— पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् ।
राप्ती सोनारी गाउँपालिका-८ नयाँगाउँ पुल नजिक गए राति करिब ८ बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए ।
उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन् बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडि पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घाइते राँगालाई किसानले घरमा लगेर अहिले पशु चिकित्सक बोलाएर उपचारको तयारी गरेका छन् । मरेका राँगाको क्षतिपूर्तिका लागि इलाका प्रहरी कार्यालयमा बस धनी र किसानबीच छलफल भइरहेको स्थानीय कविन्द्र परियारले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १६:५७