News Griha :: न्यूजगृह
घरघरमा पुग्यो खाना पकाउने ग्यासको पाइप

कैलाली— जिल्लाको टीकापुर नगरपालिका-२ सीतापुरका भुवन चौधरी अचेल खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । 

तर, पछिल्लो समय चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौंदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले ग्यासमा खाना पाक्न थालेको छ । 

‘नजिकै जंगल छ, दाउराको समस्या हुँदैन, आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन, दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो,’ चौधरी भने, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ, यो त सोचेकै थिइँन ।’ 

टीकापुर नगरपालिका-५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर-घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । 

स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताउँछिन् । ‘दाउराको भरमा खाना पकाउन समस्या थियो,’ उनले थपिन्, ‘अहिले एक घन्टामा खाना पाक्छ, समयमा काममा जान सकिएको छ, भाँडाकुडा माझ्न समय लाग्दैन, हाम्रा लागि नसोचेको भएको छ ।’

ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित हुन सकेका छैन । अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरि थारू बताउँछन् । उनले कहिलेकाहीँ ग्यास नआउने र खाना पकाउँदा समस्या भएको बताउँदै नियमित गर्न आग्रह गरिन् ।

दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता १५० घरधुरीका लागि छ । ग्यास घर-घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ ।

एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको हो ।

नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताए ।

नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट संकलन भएको फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । 

त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:१९
Weather Update